नेपाल – चीन विशेष कला प्रदर्शनीको उद्घाटन समारोह

चिनियाँ दुतावासको साँस्कृतिक विभागका प्रमुख चाङ्ग विङ्ग
चीन संस्कृति केन्द्रका निर्देशक यीन कुन सोङ्ग
उपस्थित दाजुभाई तथा दिदिबहिनीहरु

नेपाल र चीन बीच शताब्दियौं पुरानो साँस्कृतिक सम्बन्ध रही आएको छ। यो साँस्कृतिक सम्बन्धको एउटा प्रमुख आधार बौद्धधर्म, दर्शन र संस्कृति हो । चीनका प्रसिद्ध विद्धान भिक्षुहरु फाश्यान र स्वेन चाङ्गको दक्षिण एसियाको यात्राले चीन र नेपालको साँस्कृतिक सम्बन्धलाई जोडेको मात्र छैन लुम्बिनी भगवान बुद्धको जन्मस्थल भनि प्रमाणित अभिलेख पनि विश्वलाई छोडेर गएको छ ।

आज यहाँ चीनको छिङ्ग हाई, हाइनान्प्रिफेक्चर को व्यावसायिक संस्थाले आयोजना गरेको तिब्बती इम्ब्रोइडरी कलामा पनि बौद्ध सँस्कृतिको अमूल्य छाप देख्न सक्नु हुनेछ । यो कला अमूर्त साँस्कृतिक सम्पदा पनि हो । यो प्रदर्शनीले अमूर्त सांस्कृतिक सम्पदा संरक्षण र संवर्धनमा चीन सरकारको सक्रियतालाई पनि प्रस्टयाउछ ।

तपाई–हामीलाई थाहा छ, हाम्रो नेपालमा पनि धेरै अमूर्त साँस्कृतिक सम्पदाहरु छन् जस्को संरक्षण र संवर्धनमा हामी सक्रिय हुनु आवश्यक छ, यस तर्फ राज्य र समुदायको ध्यान जानुपर्छ ।

नेपालका प्रसिद्ध कलाकार अरनिको र अन्य नेपाली कलाकारहरुले चीनको तिब्बत र बेइजिङ्ग लगायतका ठाउँहरुमा अनुपम कला संरचनाहरु निर्माण गरेर नेपाल – चीन साँस्कृतिक सम्बन्धलाई उचाईमा पु¥याएका थिए । यस्तै यो प्रदर्शनीले पनि नेपाल – चीनको साँस्कृतिक आदान–प्रदानलाई निरन्तरता दिएको छ,जसबाट साँस्कृतिक क्षेत्रमा हामी एक–अर्कोबाट सिक्न सक्छौं ।

नेपालको साँस्कृतिक सम्पदाको संरक्षणमा चीन सरकारको सहयोगको प्रशंसा गर्दछु । हालैमात्र बसन्तपुर, नौतल्ले दरवार र नुवाकोटको साततल्ले दरवारको जिर्णोद्वार कार्य चीन सरकारको सहयोगमा सुरु भएको छ । यस्तै अन्य सम्पदाको संरक्षणमा पनि चीनले सहयोग गर्दैछ । यसरी चीनले नेपालको आर्थिक र सामाजिक विकासको साथै सांस्कृतिक क्षेत्रमा पनि सहयोग उपलब्ध गराउदै एउटा असल छिमेकीको दायित्व निर्वाह गरिरहेको छ ।

अन्तमा,
आजको यो विशेष कला प्रदर्शनीको उद्घाटन समारोहमा उपस्थित हुने मौका दिनुभएकोमा आयोजक मित्रहरुलाई हार्दिक धन्यबाद दिँदै मेरो छोटो मन्तव्य यही अन्त्य गर्दछु ।

धन्यवाद

Scroll to Top